काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने/वितरण गर्ने ३ जनालाई जरिमाना तिराएको छ। कलंकी क्षेत्रमा पर्चा टाँसेको विषयमा महानगरपालिकाले जरिवाना तिराएको हो।
विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको महानगरले जानकारी दिएको छ। नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई जरिमाना तिराएको हो। महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ।
यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चाँ टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरु भेटिन्छन्। उनीहरुमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरुको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन्।
जरिमाना तिर्ने गणेश आचार्य एसबी जब सर्भिस लिङ्कसँग आबद्ध छन्। यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ। तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ। कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ। अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ। काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन।
गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदैछन् भन्ने गुनासो टिपाइएको थियो। ‘पैसा पनि लगे। कम्पनी भएको कोठा पनि बन्द छ। पहिले कुरा हुने गरेको मोवाइलमा फोन लाग्दैन,’ गुनासोको विवरण थियो। यसपछि रोजगारमूलक सामग्रीमाथि महानगर प्रहरी बलले दृष्टि राख्न थालेको हो।



