सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार कृष्णाष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन कर्फ्यू आदेश जारी गरिएको हो।
शुक्रबार साँझ मूर्ति विसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। प्रहरीले झडप नियन्त्रणमा लिन अश्रुग्यास र हवाई गरेको थियो। शनिबार दिउँसो पनि झडप भएपछि रातको समय सुरक्षित बनाउन सावधानी अपनाइएको प्रशासनको भनाइ छ।



