काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला/नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन्। त्यसका लागि सशक्त अभियान सञ्चालन गर्न आफू योग्य रहेको भन्दै उनले उम्मेदवारीका लागि तयारी अघि बढाएको बताए।
‘यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने।
महासंघमा जिल्ला/नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताए। ‘नयाँ नेतृव चयनका लागि सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुखलाग्दो विषय हो,’ श्रेष्ठले भने, ‘वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ। महासंघको जिल्ला/नगर उद्योग वाणिज्य संघ समूहको नेतृत्व पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने प्रयास गरेको छु।’
सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए।
देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियतातर्फ लम्काउन जरुरी रहेको बताए।
महासंघ व्यक्तिका लागि नभई उद्योगी र व्यवसायीका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाइ छ।


