काठमाडौं– १० भदौदेखि सम्पर्कविहीन डोल्पा सदरमुकामस्थित नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डितको शवको पहिचान भएको छ। मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित भेरी नदीमा एक जना पुरुषको शव भेटिएको थियो।
अनुहार प्रस्ट नभएको र एउटा हात सग्लै भएको अवस्थामा फेला परेको शव सदरमुकाम ल्याइएपछि मेजर पण्डितकै भएको उनका बुबाले पहिचान गरेको डोल्पाका प्रमुख जिल्ला भूमिश्वर पोखरेलले बताए। मेजर पण्डितले लगाएको घडी र औंठीको आधारमा उनका बुबाले छोराकै शव भएको बताएको प्रजिअ पोखरेलको भनाइ छ।
मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीयले फेला पारेका थिए। लगत्तै उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए। डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।
‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरी त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं। धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुबाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले भने।
सेनानी पण्डितको शव मंगलबार राती नै पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ।


