काठमाडौँ- काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन आयोजना गरी आरोपित सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा उनले नै चार जनाको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। उनले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरिसकेको छ।
भण्डारीले पालैपालो चार जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ।
प्रहरीका अनुसार उनी १९ वर्षीय नवीन राईको हत्या गर्न दिव्य स: काठ मिलमा पुगेका थिए। नवीनको हत्या गर्ने क्रममा अन्य व्यक्तिहरूलाई पनि उनले सामूहिक हत्या गरेको दाबी प्रहरीको छ।
यसअघि प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
ती व्यक्ति साढे ११ बजे उक्त मिलबाट निस्किएको पाइएको छ। दीपेन्द्र मिलमा पुग्दा ती व्यक्ति हत्या गरी निस्किसकेका थिए।
प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
काठ मिलभित्र दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो।


