काठमाडौँ- आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल निष्कर्षविहीन भएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल कुनै निर्णय गर्न नसकी सकिएको हो।
बिहान ८ देखि ९ बजेसम्म नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलनिकट शिक्षक संगठन पदाधिकारीहरूसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोककुमार राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका थिए।

छलफल निष्कर्षमा नपुगेपछि मन्त्री श्रेष्ठले आन्दोलन मर्यादित बनाउन आग्रह गरेका थिए। उनले अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसपछि छिट्टै बस्ने गरी आजको बैठक टुंगिएको मन्त्रालयको भनाइ छ।
विद्यालय बन्द हुँदा विद्यार्थी भने मारमा पुगेका छन्। काठमाडौँ महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएपछि कामाडौँ महानगरपालिकाभित्रका विद्यालयका प्रअहरूले विज्ञप्ति नै जारी गरेर विद्यालय बन्द गरेर आन्दोलनमा होमिन आग्रह गरेका थिए।
विद्यालय खुल्ने र नखुल्ने संशय निराकरण नहुँदा केही विद्यार्थीहरू भने विद्यालयसम्म पुगेका थिए।







