मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवः।
भावार्थ– आमाबुबा र गुरु ईश्वर (देवता) हुन्।
माता शत्रुः पिता वैरी येन बालो न पाठितः।
न शोभते सभामध्ये हंसमध्ये बको यथा।।
भावार्थ – यदि सन्ततिलाई शिक्षा दिँदैन भने बाबु र आमा दुवै शत्रु हुन्, अज्ञानी सन्तान सधैँ हाँसको माझमा बकुल्लाजस्तै हुन्छ।
000
माथिका दुई संस्कृत सुक्तिले शिक्षाको महत्व दर्शाएका छन्। पहिलो श्लोकमा ईश्वर हुन् भनिएका बुबाआमा नै शिक्षा नदिएको खण्डमा शत्रु हुने दोस्रो श्लोकमा उल्लेख छ।
हाम्रो देशमा परिवर्तन गर्नुपर्ने सबै भन्दा पहिलो कुरा नै शिक्षा बन्यो। देशका विभिन्न कुनादेखि काठमाडौँमा जम्मा भएर यदि शिक्षामा परिवर्तनको कुरा भएको भए शिक्षकहरुको यो आन्दोलन राष्ट्रिय आन्दोलन बन्थ्यो। तर शिक्षकले आफ्नो वृत्तिविकास र अनुकुलताका माग राखे। त्यसैले यसलाई आन्दोलन सामाजिक आन्दोलन बन्नबाट बञ्चित गर्यो।
शिक्षा सिकाइ हो र सिकाइ भनेको राम्रा बानीहरुको निर्माण हो। सिकाइसँग जोडिने कुरालाई सकारात्मक सन्दर्भमा प्रयोग गरिनुपर्ने थियो। अहिले त्यसो हुन सकेन/सकिरहेको छैन।
हाम्रो समाज पहिला जहाज चढ्यो, अनि गाडी चढ्यो र अहिले मोटरसाइकल युगमा छ। भौगोलिक बनोटले यसो हुन बाध्य गरायो। मेरो घरतिरबाट काठमाडौँ आउन या त पोखरासम्म पैदल आएर बस चढनु पर्थ्यो हैन, बलेबा एयरर्पोटबाट जहाज चढ्नु पर्ने थियो। लागतको हिसाबले महँगो परेतापनि गाडी चढ्नुअघि मेरो समाज उडेको हो। अनकन्टार पहाड फुटाएर गाडी पुगेपछि हामी गुड्न थाल्यौँ। अहिले थप सहजताको लागि भान्सासम्मै पुग्ने गरी मोटर साइकल चलाउँदै छौँ। यो सन्दर्भ मैले हामी कसरी माथिल्लो तहबाट तल झर्दै आयौँ भन्ने सन्दर्भमा प्रयोग गरेको हुँ।
मुलतः गुरुकुल विद्याश्रमहरुको विघटनपछि हामीले तय गरेको पाठ्यक्रमसँग हाम्रो शिक्षा, संस्कार र सिकाइ जोडिएको छ। कठोर र उच्च अनुशासनमा रहेर शिक्षा ग्रहण गरी दीक्षितहरुमा कायम उच्च नौतिक चरित्र, आस्तिक चेतना र शिक्षाको सहायताबाट निर्माण गरिएका वैद्यखाना, ज्योतिष, व्याकरण, परम्परागत संस्कृति वा सनातन परम्परा विस्तारै विघटित हुँदै जान थाल्यो।
गुरुकुल शिक्षा संस्कृत भाषाको माध्यमबाट ईश्वरभक्ति, सात्विक भोजन, निरोगी आचरणका साथै आमाबुबा, अतिथि, गुरु र समाजलाई केन्द्रमा राखेर तय गरिएको थियो। यस प्रणालीबाट दिक्षीत व्यक्तिले धर्मको मर्ममा रही समाजलाई नौतिकवान, निष्ठावान, सत्यवादी तथा नियमसंगत जीविकोपार्जनद्वारा सुसंगठित र परिचालित गरेको हुन्थ्यो। त्यो समय अहिले जस्तो ज्याद्रो सामाजिक असमानता, प्रर्दशनमुखी सोच वा आडम्बर तथा हिसांत्मक र आपराधिक मनोवृत्तिबाट धेरै पर थियो। परिणामस्वरुप मान्छेहरुको मन शान्त र निष्कलंक थियो।
विश्वव्यापीकरणको प्रभावले हामीलाई नछुने कुरा नै भएन। सन् १८१५ अप्रिल २४ मा नेपाली युवाहरुलाई संगठित गरी बेलायतले गोर्खा रेजिमेन्ट स्थापना गर्यो। जस्को मुख्य उद्देश्य बेलायती उपनिवेशवाद कायम गराउन युद्ध लडाउनु थियो। अझै यो भन्दा अगाडि नै चिन, इजिप्ट, क्रिमिया र अफगानिस्तान (नर्थवेस्ट)मा नेपाली युवाहरूले युद्ध लडेका थिए। रणजीत सिंहको नेतृत्वमा नर्थवेस्टमा फ्रन्टियर भएर युद्ध लड्दै गर्दा बलभद्र कुँवर मारिएको इतिहास छ।
दुखद् कुरा के छ भने तत्कालीन नेपालको ५४ लाख जनसंख्यामध्ये ३.७ प्रतिशत नेपाली युवा (२ लाख युवा)ले बेलायतीका तर्फबाट युद्ध लड्न देश छोडेका थिए। मैले जोड्न खोजेको कुरा के भने यसरी युवा बाहिरने क्रम बढैसँगै बाहिरी संस्कृति हामीकहाँ भित्रियो। त्यस्को प्रभाव हाम्रो समाजमा देखिन थाल्यो।
अंग्रेजी भाषाको सहायताले बाहिरिन सजिलो भएपछि विस्तारै त्यस्को लगाव बढदै जान थाल्यो। वि.स. १९१० असोज २७ गते प्र.अ. मिस्टर क्यानिङ तथा सुपरिवेक्षक मिस्टर रोसलाई राखी आफ्ना भाइभारदारका छोरालाई अंग्रेजी शिक्षा दिने उद्देश्यका साथ जंगबहादुरले अंग्रेजी प्रारम्भिक स्कुल संचालनमा ल्याए।
वर्तमान शिक्षा प्रणालीबाट निस्केका विद्यार्थीमा ‘पढेलेखेको हुँ’ भन्ने भाष्य निर्माण गरिदियो जसले आडम्बर, बहुलठ्ठीपना र घमण्डको पक्षपोषण गर्यो।
१९२४ देखि राणा नजिकका सर्वसाधारणका छोराहरुले पढ्न पाउने व्यवस्था गरियो। कलकत्ता विश्वविद्यालयसँग समकक्षता लिने गरी संचालन गरिएको यस स्कुलमा सरदार रुद्रराज पाण्डे पहिलो प्रअको रुपमा नियुक्ति भएका थिए। पछि वि.स. १९१५ मा जनरल बबरजंगको अध्यक्षतामा शिक्षा विभाग गठन गरियो। शिक्षामा नयाँ युगको सुरुवात भयो।
बालगुरु षडानन्दले १९३२ मा भोजपुरमा पहिलो पटक नेपाली नागरिकको तर्फबाट संस्कृत पाठशाला स्थापना गरे। उदारवादी राणा प्रधानमन्त्री देव शमशेरको पालामा जयपृथ्वी बहादुर सिंहलै पहिलो नैपाली भाषाको पाठ्यक्रपुस्तक अक्षरांक शिक्षा तयार गरेका थिए।
सन् १९६८ मा मेट्रिक (एसएलसी) परीक्षा नेपाली भाषामा दिने गरी संचालन भएपछि शिक्षामा आधुनिकीकरणको सुरुवात भएको मानिन्छ। सुरुमा चारपासे (लेखा, श्रेस्ता, हिसाब र औँठाको सहिछाप) बाट सुरु भएको पाठ्यक्रमले विस्तारै विस्तारै आधुनिक रुप लिँदै गयो। यस्तो इतिहासबाट आएको हाम्रो शिक्षा प्रणालीमा विस्तारै हाइस्कुल र कलेज स्थापना हुँदै गए र समाजमा शिक्षाको महत्व स्थापित हुँदै गयो।
आजको समयसम्म आइपुग्दा शिक्षा व्यापार बन्यो। राज्यको नियन्त्रमा राख्नै नसकिने गरी शिक्षा व्यापारीहरुको हातमा गयो। विधार्थीलाई आफ्नो आयको स्रोत ठान्ने शिक्षा व्यापारीहरुले शिक्षाको मौलिकता नै नास हुने गरी कमाउ धन्दा गर्न थाले। नागरिकहरु आफ्ना सन्ततिको उज्यालो भविष्यको लागि तथा सन्ततिको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको लागि आफ्नो आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्ने बाध्यतामा छन्।
खासमा यसको विरुद्ध हुन पर्ने थियो। शिक्षक आन्दोलन, यस्तो महत्वपूर्ण विषयमा यो आन्दोलन चुक्यो। यो भन्दा विकराल कुरा त राज्यले तय गरेको पाठ्यक्रम छ। चालु पाठ्यक्रमले विद्यार्थीमा समभाव जीविका र नौतिक आचरण स्थापित गर्न सकेन।
गुरुकुल शिक्षा संस्कृत भाषाको माध्यमबाट ईश्वरभक्ति, सात्विक भोजन, निरोगी आचरणका साथै आमाबुबा, अतिथि, गुरु र समाजलाई केन्द्रमा राखेर तय गरिएको थियो।
आफ्नो साथीभन्दा आफू उत्कृष्ट हुन सके मात्र सफल भएको मानिने अस्वस्थ शिक्षाले हरेकमा केही न केही क्षमता अन्तर्निहित हुन्छ भन्ने कुरा हेक्का राख्न दिएन। अर्को भन्दा आफू उत्कृष्ट हुनै पर्ने अनिवार्य बाध्यताले शिक्षार्थीमा मानसिक तनावको सृजना गरेको छ।
जिविकोपार्जनसँग जोडिन नसक्दा शिक्षा एकातर्फ आँधी एकातर्फ झोलुँगो जस्तो हुन पुगेको छ। सरकारी सेवामा प्रवेश गर्न मात्रैलाई विभिन्न तह निर्माण गरेर अध्यापन गराइएको यस प्रणालीले विधार्थीको सबैभन्दा ऊर्जावान समयलाई निरर्थक बनाउन सिकायो। यस प्रणालीबाट निस्केका हामीजस्ता विद्यार्थीमा पढेलेखेको हुँ भन्ने भाष्य निमार्ण गरिदियो जस्ले आडम्बर, बहुलठ्ठीपना र घमण्डको पक्षपोषण गर्यो। आजको हाम्रो शिक्षाले शिक्षाचेत भन्दापनि तथ्यांकमुखी अवधारणा तय गर्यो। सूचनाहरुको संलन गर्न मात्रै सिकायो तर सूचना र तथ्यांकहरुमा निहीत शक्ति समाजको बिहंगम विकासको लागि कसरी प्रयोग गर्न सकिन्छ सिकाएन। हिजोआज बुबाले यत्रो पढेर पनि एउटा स्थायी जागीर खान सकिनस्, केही गर्न सकिनस् भन्नुमा हाम्रो शिक्षा प्रणाली दोषी छ।
अब हामी यसैप्रति गुनासो गरेर बसेर मात्र कहीँ पुग्दैनौँ। त्यसैले एउटा बृहत शिक्षा आन्दोलनको आरम्भ गरौँ। जस्मा समयानुकुल पाठ्यक्रम तय गरौँ। विधार्थीमा ऊर्जा भर्न सिकाऔँ। व्यक्तिका उमेरगत मर्यादा, समाज, परिवार र राज्यप्रतिको जिम्मेवारी बोध गर्न सकौँ। विकासक्रमको सुरुवाती चरणमा लयमा रहेको अहिले बाटो बिराएको छ। राज्य र नागरिक तहबाट शिक्षामा गरेको लगानी बालुवामा पानी बन्न नदिऔँ। नयाँ शिराबाट शिक्षा आन्दोलन सुरु गरौँ। सर्वपक्षीय परिवर्तनको आधार शिक्षा हो। त्यसैले शिक्षामा सर्वांगीण परिवर्तन हुने गरी शिक्षा आन्लोलन आरम्भ गरौँ।
जय शिक्षा!
कृष्ण रिमाल
कुश्मा नगरपालिका-९, पर्वत


