काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ र रामचन्द्र संघईलगायतका प्रतिनिधि मण्डलसँग डा. महतले भेटवार्ता गरेका हुन्।
भेटका क्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजारमा तरलता प्रवाह गरेर ब्याज दर घटाउन सुझाव दिएका छन्।
राष्ट्र बैंकसँग अहिले पनि ब्याजदर घटाउन स्पेस रहेको र सरकारले खर्चको भुक्तानी दिएर पनि तरलता अभावको समस्या कम गर्न सक्ने उनले बताएका थिए।
गोल्छाले २४ प्रतिशत मात्र सरकारी खर्च भएको भन्दै बढाउन आग्रह गरेका थिए।
राजस्व संकलन कम भएकाले खर्च गर्ने रकम नभएको सन्दर्भ जोडेर गोल्छाले बाहिरी ऋण उठाएर भएपनि खर्च गर्न सुझाव दिए। ऋण लिएर सामाजिक सुरक्षालगायतका अनुत्पादक क्षेत्र खर्च गर्नेभन्दा पनि विकास खर्चमा सरकारको जोड हुनुपर्ने उनको सुझाव थियो।
विगतमा सरकार र केन्द्रीय बैंकमार्फत् आयात बन्द हुँदा अवैध कारोबार बढेको, नेपालमा निर्यात हुने कतिपय वस्तुहरुको भारतबाट अवैध आयात भइरहेको भन्दै अध्यक्ष गोल्छाले अवैध रोक्न आग्रह गरेका थिए। यसैगरी प्रतिबद्धता भएअनुसारको दाताहरुबाट रकम लिन पनि उनले आग्रह गरेका छन्।
निजी क्षेत्रको मनोबल घटेको भन्दै उनले निजी क्षेत्रलाई त्रसित बनाएर राजस्व नउठाउन उनले अर्थमन्त्रीलाई सुझाव दिएको अर्थ मन्त्रालयले जनाएको छ।
जवाफमा अर्थमन्त्री महतले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने बताएका छन्।
ब्याजदर र तरलतासँग सम्बन्धित विषय राष्ट्र बैंकसँग सम्बन्धित भएकाले राष्ट्र बैंकसँग छलफल गर्ने बताएका थिए।


