काठमाडौँ- चैत १ गते अञ्जन श्रेष्ठको टिमबाट एसोसियट उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठले टिम परिवर्तन गरेकी छन्। निर्वाचन नजिकिएकै समयमा टिम छोड्दा अञ्जन श्रेष्ठ समूह संकटमा परेको छ।
ज्योत्स्नाले अञ्जनको टिम छोडेर रामचन्द्र संघईको प्यानलबाट उम्मेदवार बन्ने तयारी गरेकी छन्। आइतबार साँझ ५ बजे लैनचौरस्थित नेपाल स्काउट ग्राउन्ड लैनचौरबाट संघईले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।
जिल्लानगरबाट सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचनले पनि उनकै समूहबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने तयारी छ। यसअघि चर्चामा रहेका सन्दीप अग्रवालको स्थानमा ज्योत्स्नालाई समावेश गर्दै संघईले टिम घोषणा गरेका छन्।
ज्योत्स्नालाई अञ्जनको प्यानलमा एसोसिएट तर्फको बलियो उम्मेदवारका रूपमा लिइएको थियो। शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले चुनाव नलड्ने घोषणापछि अञ्जनले नै उनलाई टिममा ल्याएका थिए।


