काठमाडौँ- नेपाल वायुसेवा निगम सुधारसम्बन्धी अध्ययन गर्न गठित समितिको प्रतिवेदनले तीन विकल्प दिएको छ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा ती कुरा उल्लेख छन्।
क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिश समिति गठन गरिएको थियो।
मन्त्री किरातीले समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन्।
विकल्प एक : यथास्थितिमा व्यवस्थापन सुधार
निगमलाई पहिलो विकल्पको रुपमा रुपान्तरण गर्नका लागि संचालक समिति र कार्यकारी प्रमुखको नियुक्ति प्रणालीमा सुधार गर्न सुझाव दिएको छ।
निगमलाई पूर्ण सरकारी स्वामित्वको संस्थाका रुपमा राखी अन्तराष्ट्रिय रुपमा खुला आह्वानद्वारा व्यवस्थापन करारको व्यवस्था गर्ने पनि समितिको सुझाव छ।
यस्तै व्यवस्थापन करार गर्दा सफलतासाथ संचालनमा रहेका अन्तर्राष्ट्रिय विमानसेवा अनुभवप्राप्त कम्पनी मध्येबाट निश्चित शर्त तोकी (न्यूनतम सुविधा र नाफामा पुन्याए वापत निश्चित प्रतिशत प्रोत्साहनको दिने वस्था गर्न समितिको सुझाव छ।
यसरी करारमा नियुक्त गरिएको कम्पनीलाई दैनिक कार्य संचालनमा स्वायत्तता दिइनुपर्ने उसको सुझाव छ।
विकल्प दुई : निगमलाई कम्पनीमा परिणत गर्ने
निगमलाई रणनीतिक साझेदार सहितको कम्पनीमा परिणत गरी सञ्चालन गर्न दोस्रो विकल्प समितिको अध्ययनले दिएको छ।
निगम कम्पनीमा रुपान्तरण भएपछि निगमको नाम नेपाल वायुसेवा कम्पनी लिमिटेड राख्न उसको सुझाव छ। यसो गर्दा हालको सेयर संरचना पनि हेरफेर गर्न समितिको सुझाव छ।
अर्थमन्त्रालयको २६ र पर्यटन मन्त्रालयको २५ गरी नेपाल सरकारको नाममा ५१ प्रतिशत सेयर स्वामित्व कायम गर्न समितिको सुझाव छ। यस्तै रणनीतिक साझेदारको ३० प्रतिशत र संस्थाहरूको स्वामित्व १५ प्रतिशतका साथै निगमका कर्मचारी (पूर्वकर्मचारीसमेत)को ४ प्रतिशत सेयर कायम गर्न समितिको सुझाव छ।
उक्त व्यवस्था अनुसार संचालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयको सचिव बनाउने व्यवस्था गर्ने, अर्थ मन्त्रालयको सहसचिव, रणनीतिक साझेदारबाट दुई, सरकारको निर्णय अनुसार कुनै विश्वविद्यालयबाट वाणिज्य संकायमा डिनबाट १ जना र विभिन्न क्षेत्रका विज्ञ १ गरी जम्मा ७ जनाको सञ्चालक समिति बनाउन उसको सिफारिस छ।
विकल्प तीनः कम्पनीलाई तीन भागमा विभाजन गर्ने
क्षेत्री नेतृत्वको अध्ययन समितिले कम्पनीलाई तीन भागमा विभाजन गरी काम गर्न समेत सकिने गरी सुझाव पेस गरेको छ। यसअनुसार मूल कम्पनी, अन्तर्राष्ट्रिय उडान सहायक कम्पनी र आन्तरिक उडान सहायक कम्पनी बनाउने विकल्प उसले दिएको छ।
मूल कम्पनीले उड्डययन सम्बन्धी व्यवसायिक तालिम, विमान लगायत सम्बन्धित उपकरणको संभार, मर्मत, भूमिस्थ सेवा संचालन क्याटरिङ्गको व्यवस्था र सहायक कम्पनीलाई आवश्यकता अनुसार प्राविधिक र अन्य सेवा प्रदान गर्ने गरी विकास गर्नुपर्ने समितिको विकल्प छ।
यस्तै अन्तर्राष्ट्रिय उडान सहायक कम्पनीले विमान संचालन, बजार व्यवस्थापन आदि काममा पूर्ण स्वायत्त र विमान खरिद, मर्मत संभार आदिमा मूल कम्पनीको सहयोग रहने व्यवस्था गर्न समितिको विकल्प छ। यसरी बन्ने कम्पनीको संचालक समितिमा तीन जना मूल कम्पनीका संचालक र दुईजना उड्डययन क्षेत्रमा विज्ञहरु रहने गरी तय गर्नुपर्नेछ।
यस्तै आन्तरिक उडान सहायक कम्पनीले आन्तरिक उडानको व्यवस्थापनमा पूर्ण रुपले सरिक हुने र प्राविधिक एवम् खरिद मर्मतमा मूल कम्पनीको सहयोग रहने गरी कम्पनी खडा गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। यो कम्पनीको संचालकमा मूल कम्पनीका संचालक मध्येबाट तीन जना र दुईजना उड्डययन क्षेत्रका विज्ञहरुवाट प्रतिनिधित्व गराउन सकिने समितिको अध्ययनले उल्लेख गरेको छ।
प्रतिवेदनको पूर्णपाठ


