काठमाडौँ– दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पछिल्लो पटक एक जना पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। उनी स्वयम्भूबाट पक्राउ परेका हुन्।
यो प्रकरणमा सुन ल्याउने भूमिका तासीको रहेको प्रहरीको दाबी छ।
मंगलबार पनि सीआईबी टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। चिनियाँ नागरिक ग्याङरू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका हुन्। उनीहरूलाई दोलखा पठाइएको छ।
त्यसअघि दोलखाबाट ७ जनालाई पक्राउ परेका थिए। यसरी प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको हो।
असोज १० गते चार किलो बरामद गरेको थियो। सोही दिन पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ वर्षीय केशर तामाङ, ५५ वर्षीय नुर्बु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालक पनि छन्।
यो प्रकरणमा असोज १२ गते तीन किलो सुन बरामद गरेको थियो। अनुसन्धानकै क्रममा असोज १४ गते थप चार किलो सुन बरामद भएको हो।


