काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा विभिन्न पदका आकांक्षीहरूको प्यानल अदलबदल हुन थालेको छ। वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी अञ्जन श्रेष्ठले प्रबलजंग पाण्डेलाई आफ्नो समूहमा भित्र्याएका हुन्।
पाण्डे निर्वतमान अध्यक्ष भवानी राणा निकट मानिन्छन्। राणाले अञ्जनलाई समर्थन गरेकी छन्। अञ्जनले चैत १ मा प्यानल घोषणा गरेका थिए। उक्त प्यानलमा रहेकी ज्योत्सना श्रेष्ठ वरिष्ठका अर्का प्रत्यासी रामचन्द्र संघईको समूहमा पुगेपछि प्रबललाई भित्र्याइएको हो।
शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालको प्रोक्सी भोटको समर्थन पाएकी जोत्स्नालाई अञ्जनले नै आफ्नो टिममा ल्याएका थिए। तर, अन्तिम समयमा आएर उनले टीम परिवर्तन गरेपछि महासंघमा आकांक्षीहरूको अदलबदल शृंखलाले तीव्रता पाउने देखिएको छ।
अञ्जनको टिमबाट वस्तुगततर्फ मनिषलाल प्रधान, एसोसियटतर्फ प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फको अरुणराज सुमार्गी उपाध्यक्षका प्रत्यासी बनेका छन्।
वरिष्ठ उपाध्यक्षकै अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्यानलमा वस्तुगततर्फबाट हेमराज ढकाल, एसोसियटस उपाध्यक्षतर्फ भरत आचार्य र जिल्ला/नगरबाट दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
संघईको टिममा वस्तुगततर्फ उपाध्यक्षमा सकुन्तलाल हिराचन, एसोसियटतर्फ जोत्स्ना श्रेष्ठ र जिल्ला/नगरबाट सुरकृष्ण वैद्यले उम्मेदवारी दिने भएका छन्।


