काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिहरूसँगै भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष गर्नुपर्ने बताएका छन्।
शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘विकल्प, समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको बताए।
‘हामीले क्रान्तिको बेला भन्यौं– विद्रोह गर्नु जनताको अधिकार हो। पार्टीभित्र पनि विद्रोह गर्ने अधिकार छ। शान्ति प्रक्रियामा आएपछि धेरै साथीहरूले विद्रोह पनि गर्नुभयो। तर, विकल्प दिन सक्नुभएन। त्यो विकल्प हामी नै रह्यौं। यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भने।


