पोखरा– पोखरास्थित मणिपाल अस्पतालमा उपचारमा खटिएका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोड गरेका आरोमा दुई जनालाई थुनामा पठाइएको छ।
कास्की जिल्ला अदातलले थप ७ जनालाई एकएक लाख धरौटी लिएर रिहा गर्न पनि आदेश गरेको छ।
थुनामा पठाइएका हरूमा कास्की जिल्ला पोखरा-१७ हनुमान टोलका छावा भन्ने सुशील कार्की र पोखरा-५ मालेपाटनका विनय गुरुङ छन्।
यस्तै पोखरा-४ का सुजित मुल्मी, पोखरा-५ का अभिनाश गुरुङ र अरुण गुरुङ, पोखरा-९ का नितेश गुरुङ र विवेक गुरुङ पोखरा-२० का मनिष थापा र पोखरा-११ प्रदीप गुरुङसँग जनही एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
असोज ८ गते जिल्ला लमजुङ सुन्दरबजार न.पा. वडा नं. ६ बस्ने बर्ष ५७ की सुकमाँया दुराको अस्पतालमा मृत्यु भएको थियो। डाक्टरको लापरबाहीको कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग गर्दै उनका आफन्तले अस्पतलामा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए।
यस्तै मणिपाल शिक्षण अस्पताल तोडफोडसमेत गरेका थिए। उनीहरूमाथि स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ।
यो मुद्दामा पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्तिहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।


