काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले प्रदेशका उद्योग वाणिज्य महासंघका अध्यक्षहरूलाई राखेर उम्मेदवारी घोषणा गरेको छ।
सोमबार वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। उनको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठ उमेशलाल श्रेष्ठ समूहमा आइपुगेका हुन्।
यस्तै उमेशलाल समूहबाट वस्तुगत उपाध्यक्षका लागि हेमराज ढकालको उम्मेदवारी घोषणा गरिएको छ। एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य छन्। उक्त समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्यसहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको हो।
उम्मेदवारी घोषणा कार्यक्रमममा प्रदेश अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको विकल्प नभएको र सबै प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने दाबी गरे। उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश अध्यक्षहरुले अहिले महासंघको साख गिर्दो अवस्थामा रहेको र अबका दिनमा व्यवसायिका समस्या सरकारमाझ पुर्याउनका लागि पनि उमेशलालजस्तो निडर प्रष्ट वक्ताको आवश्यकता खड्किएको बताएका थिए।
कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मधेष प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादूर शाहीको उपस्थिति थियो।
‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ। यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु,’ घोषणासभामा उनले भने, ‘मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो। म निडर छु र व्यवसायिका आवाज बोल्छु, पक्कै पनि यहाँहरुले अमूल्य मत दिएर मलाई विजयी गराउनुहुने छ भन्ने आशा र विश्वास छ।’


