काठमाडौं – जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १३६ पुगेको छ। केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो।
कडायतका अनुसार शनिबार दिउँसो १२:४५ बजेसम्मको विवरणमा दुवै जिल्लामा १६६ जना घाइते भएका छन्। जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएको विवरण प्रहरीमा प्राप्त भएको छ। जाजरकोटका घाइतेमध्ये ३३ जनाको जाजरकोटमा नै उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
रुकुमपश्चिमका घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भएका छन्। ४० जना स्थानीय अस्पतालमा उपचाररत छन्। १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्जका अस्पतालमा रिफर गरिएको छ।
रुकुम पश्चिमबाट डिएसपीको नेतृत्वमा ३२० जना, जाजरकोटबाट डिएसपीको नेतृत्वमा ४५० जना प्रहरी खटिएका छन्।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोट, चौरजहारी बेस क्याम्पबाट १० जना रुकुमपश्चिम र चौरजहारी बेस क्याम्पबाट १० जनाको टोली जाजरकोटका लागि खटिएको छ।
डिआइजी डा. गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली, आर्मीका लेफ्टिनेन्टको नेतृत्वमा ११ जनाको उद्धार टोली आर्मीको एमआई-१७ हेलिकप्टरमा जाजरकोटका लागि गएको छ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


