विराटनगर– कोशी प्रदेशसभाले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। सोमबार बसेको प्रदेशसभाको बैठकले अध्यादेश स्वीकृत गरेको हो।
‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ प्रदेशसभाले स्वीकृत गरेको हो।
उक्त अध्यादेश अस्वीकृत गर्न माग गर्दै यसअघि सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए। उक्त सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए। सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो।
प्रदेशसभाको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ।
बैठक सांसदहरुले सभामुख चयन प्रक्रिया थाल्न आग्रह गरेका थिए। भूकम्पबाट प्रभावित बनेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा गम्भीर भएर लाग्न पनि आग्रह गरेका थिए।
प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ।


