काठमाडौं- नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १३.८२ प्रतिशतले नाफा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सेयर पुँजी पनि बढेको छ। कम्पनीको यस्तो पुँजी गत वर्षको असोज मसान्तसम्म ४ अर्ब २५ करोड रहेकोमा यो असोज मसान्तमा ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
एक वर्षको अवधिमा कम्पनीको खुद कोष मौज्दात पनि २ खर्ब ५१ करोडबाट बढेर २ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ। कम्पनीको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेकोमा अहिले १९ रुपैयाँ ९४ पैसा कायम भएको छ। मुख्यतः कम्पनीले बोनस सेयर प्रदान गरी सेयर पुँजी थप गरेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी खुम्चिन गएको हो। यहीं कारण कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८९ रुपैयाँबाट खुम्चेर १५९ रुपैयँ ७९ पैसा कायम भएको छ।


