काठमाडौँ- आर्थिक मन्दीको असर राजस्व संकलनमा परेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
आयकर २९ प्रतिशत कम, अन्तःशुल्क (आन्तरिक) ११.५ प्रतिशत कम र भ्याट साढे १८ प्रतिशत कम संकलन भएको हो।
असोज मसान्तसम्म २ खर्ब ८९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारले लक्ष्य रहेकोमा २ खर्ब ३४ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको छ।
भन्सार महसुलमा ३५ प्रतिशत कम छ। ७६ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा यो अवधिमा ४९ अर्ब ६३ करोड रुपैयाँ मात्र उठेको छ।
यो अवधिमा ८४ अर्ब ६९ करोड रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य राखेकोमा ६९ अर्ब ९ करोड रुपैयाँ उठेको छ।
राजस्वमा धक्का लागे पनि खर्च कटौती गर्न नसक्दा सरकारले ऋणबाट काम चलाउन थालेको छ। यस वर्ष ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण खोजेको सरकारले बाह्य ऋणबाट ९ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ। तीन महिनाको अवधिमा नै १ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ ऋण पुगेको छ।
योसँगै असोज मसान्तसम्म देशको तिर्न बाँकी खूद ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५ प्रतिशत हो।


