ताप्लेजुङ- पक्राउ परेका कार्यकर्ताको रिहाइ माग गर्दै पहिचानवादीको विरोधका कारण ताप्लेजुङमा बजार बन्द भएको छ भने यातायात ठप्प भएको छ। बुधबार बिहानैदेखि बजार पसल तथा यातायात पूर्णरुपमा ठप्प भएको हो।
बन्दका कारण पुरै बजार क्षेत्र बन्द छ। चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे, दुई पाङ्ग्रे मोटरसाइकलसहित सबै किसिमका सवारी साधन ठप्प छन्।
ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिइएको छैन। यातायातका साधन नचल्दा पाथीभरालगायतका क्षेत्रको दर्शनका लागि आएका पर्यटक प्रभावित बनेका छन्।
बन्द कार्यक्रमलाई सफल बनाउन पहिचान पक्षधरका कार्यकर्ता फुङ्लिङ बजारका चोक–चोक र मेची राजमार्गअन्तर्गत बजारका सडकहरुमा बिहान सबेरैदेखि खटेका छन्। एम्बुलेन्स, दूधजन्य पदार्थ र तरकारी बोकेका साधनलाई रोकावट नभएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बर पालुङ्वाले बताए।
पहिचान पक्षधर र एमालेका कार्यकर्ताहरूबीच ताप्लेजुङमा पटकपटक झडप हुँदै आएको छ। आइतबार मात्र पनि नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई चढेको गाडीमाथि पहिचान पक्षधरले ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गाडीमा क्षति पुगेको छ।
यस्तै एमाले पोलिटव्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोलाई पनि पहिचान पक्षधरले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए।
भट्टराई र मेन्याङ्बोविरुद्धको आन्दोलनका क्रममा प्रहरीले पहिचान पक्षधरका कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवालाई पक्राउ गरेको छ। उनीहरुको रिहाइको माग राखेर पहिचान पक्षधरले आन्दोलन चर्काएका हुन्।
यसअघि मंगलबार पनि पहिचान पक्षधरले इलाम, पाँचथर र ताप्लेजुङमा यातायातका साधन चल्न दिएका थिएनन्।
आफूलाई कालोझण्डा देखाएपछि योगेश भन्छन्- एमालेलाई हमला गरेर कोशीको समस्या हल हुँदैन


