काठमाडौँ-नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य समायोजन गरेको छ।
एक लिटर पेट्रोलमा रु २ ले मूल्य घटाएको निमगले डिजेल र मट्टितेलमा भने ४ रुपैयाँले मूल्य कम गरेको छ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेल तथा पेट्रोलको भाउ घटाएको हो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६० रुपैयाँ पर्नेछ भने पेट्रोलको मूल्य १७० पर्नेछ। यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ थियो भने पेट्रोलको मूल्य १७२ थियो। यो तेस्रो वर्गमा पर्ने क्षेत्रको मूल्य हो।
दोस्रो वर्गको क्षेत्रमा यो मूल्यभन्दा रु १ सस्तो पर्ने र पहिलो वर्गमा दोस्रो वर्गमा भन्दा रु २ ले सस्तो पर्ने निगमले जानकारी दिएको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने पहिलो वर्गमा निगमका डिपो रहेका तराईका क्षेत्र (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) पर्छन्।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ। ग्यासको मूल्य १८ सय ९५ रुपैयाँ छ।



