काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ)मा एकाधिकार जमाएको नेपाल एयरलाइन्सको बिजनेस खोसिन सक्ने देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ गर्ने संस्था छनोट गर्ने निर्णय गरेपछि विमानस्थमा नेपाल एयरलाइन्सको एकाधिकार तोडिने देखिएको हो।
प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवालाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन लागिएको जानकारी दिएको छ।
‘विमानस्थलको सेवाका सम्बन्धमा पटकपटक गुनासो आएको थियो। वायु सेवा भन्दा पनि निगमले ग्राउन्ड ह्यान्डलिङमा मात्र केन्द्रित हुँदा वायुसेवा विस्तारमा पनि ध्यान दिन नसकेको पाइएपछि र ग्राउन्ड ह्यान्डलिङलाई पनि व्यवस्थित बनाउन पछिल्लो निर्णय भएको हो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल क्लिक्ससँग भने।
उनका अनुसार अब ग्राउन्ड ह्यान्डलिङमा छनोट हुन प्रतिस्पर्धाबाट आउनुपर्नेछ। छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि)को आम्दानी खस्कनेछ। अहिलेसम्म नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको बिजनेस पाउनका लागि कुनै प्रतिस्पर्धा गर्नुपरेको थिएन।
ग्राउन्ड ह्यान्डलिङबाट मात्र नेवानिले वार्षिक रूपमा झन्डै ६ अर्ब आम्दानी गर्दै आएको देखिएको प्राधिकरणको भनाइ छ। यसको १५ प्रतिशत नेवानीले शुल्कका रूपमा प्राधिकरणलाई बुझाउँदै आएको छ।
नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङका विषयमा बारबार आलोचना हुने गरेको थियो।


