काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भएको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिद-बिक्री भएको दाबी गरेका हुन्।
एनसेल खरिद-बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनले दाबी गरे।
उनले एनसेलको शेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको दाबी गरे।
सिंहले एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरूको पनि संलग्नता रहेको आरोप लगाए। नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खर्बौं घाटा लागेको उनको दाबी छ।
उनले एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै अहिले भएको अपारदर्शी खरिद–बिक्री नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे।


