काठमाडौँ- एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ। एनसेल आजियाटाले शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ। एनसेल आजियाटाले नेपाल दूरसञ्चारर प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता जनाएको हो।
मंसिर १५ गते शेयर खरिदबिक्रीको पूर्व स्वीकृति नलिई एनसेल आजियाटा बिक्री सम्झौता भएको थियो। प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।
एनसेलले पठाएको पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने कम्पनीको भनाइ छ।
प्रमुख कानुन तथा नियामक मामिला अधिकृत विशाल मणि उपाध्यायले पत्रमा भनेका छन्, ‘पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरूको पूर्ण परिपालना गर्न सदा झैँ एनसेल आजियाटा लिमिटेड प्रतिबद्ध रहेको ब्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरण समक्ष सेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेस गरिने ब्यहोरासमेत सादर अवगत गराउन चाहन्छौँ।’

अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताएका थिए। उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ।
सेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।
समितिमा एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए।
प्राधिकरणको रू दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो। सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ।
अर्थ समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा धारणा राख्दै सांसद डा स्वर्णिम वाग्ले। तस्बिर : किरणराज विष्ट/रासस
‘एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ), एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्,’ उनले भने, ‘लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ।’
यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो ।
समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गङ्गा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे।
यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा थियो।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबार सिंहदरबार बसेको बैठक। तस्बिर : किरणराज विष्ट/रासस


