काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ। यो अवधिमा नेपालको आयात र निर्यात दुवै घट्दा रेमिट्यान्स भने बढेको देखिएको छ।
चालु आवको पहिलो चार महिनाको अवधिमा ५.३८ प्रतिशतले मूल्यवृद्धि भएको छ। आयात ३.८ प्रतिशतले घटे्दा निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ।
राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो।
यसैगरी शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति रु.१,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ।
यसैगरी नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको बैंकले जनाएको छ। बैंककाअनुसार विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको बैंकको भनाइ छ।
यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ। यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ।


