काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्। सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन्।
‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन,’ भर्चुअल निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’
गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने बताएका प्रधानमन्त्रीले जनताले समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताए।
‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन,’ प्रधानमन्त्रीले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’
यो काम गर्ने अन्तिम अवसर बताएका प्रधानमन्त्रीले अब पनि सुधार नभए छुट नहुने चेतावनी पनि दिए। ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं,’ प्रधानमन्त्रीले भने।


