पोखरा– पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ। प्याराग्लाइडिङ गर्ने कम्पनीहरू नै आन्तरिक विवाद चुलिएपछि नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो।
नेपाल हवाई खेलकुद संस्था ‘ना’ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुईतिर फर्किएका छन्। एक पक्षले खुला बुकिङ सिस्टम ठिक बताएका छन् भने अर्को थरिले गलत भनेका छन्। यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन्।
पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताएका छन्। उनले आफूहरू छलफलकै क्रममा रहेकोले छिटै अवरोध हटाउने बताए।
दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो। यसअघि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएपछि तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सारिएको थियो। व्यवसाय धराशायी भएको गुनासोपछि तोरीपानीमै सारिएको छ। पोखरामा ६० भन्दा बढी कम्पनी छन्। १ सय ५० भन्दा बढी पाइलट छन्।



