काठमाडौँ– एनसेलको सेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।
प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले मंसिर २२ गते दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारणदेखाउ आदेश जारी गरेको हो।
सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यो मुद्दामा अब पुस १६ गते पेसी तोकिएको छ।
अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरणलाई इजलासमा हाजिर हुन समेत अदालतले आदेश दिएको छ।
‘दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०/०९/१६ को पेसी तोकी पेस गर्नू,’ आदेशमा भनिएको छ, ‘साथै, प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफैँ वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तरिम आदेश जारी गर्ने वा नगर्नेसम्बन्धी छलफलको सुनुवाइको क्रममा इजलाससमक्ष अवलोकनार्थ पेस गर्नुहोला।’
सात वर्षअघि रु एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा रु छ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।
रिट निवेदनमा कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढङ्गले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको उल्लेख गरिएको थियो। यसअघि, उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरी शेयर खरिदबिक्री प्रक्रिया रोक्नका लागि आदेश गरेको थियो। उक्त आदशेसँगै एनसेलले शेयर बिक्री गर्न नपाउने भएको छ।


