काठमाडौँ– नेपाल वायुसेवा निगम (नेवानि)ले एक वर्षमा २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
मंगलबार एक विवरण सार्वजनिक गर्दै एयरलाइन्सले गत आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको हो।
कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा ४ जहाज छन्। आन्तरिकमा २ वटा जहाज मात्र उड्नयोग्य अवस्थामा छन्।
यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङबाट पनि निगमले राम्रो आम्दानी गरिहरेको छ। हालसम्म कुनै प्रतिस्पर्धा नगरी ग्राउन्ड ह्यान्डलिङको सेवामा एकाधिकार जमाएको निगमले अब भने प्रतिस्पर्धाबाट छानिनु पर्ने भएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले निगमलाई बिना प्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङ सेवा दिन नसकिने गरी निर्णय गरिसकेको छ। ग्राउन्ड ह्यान्डलिङबाट कति आम्दानी भयो भन्ने निगमले खुलाएको छैन। तर प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ग्राउन्ड ह्यान्डलिङबाट मात्र निगमले ५ अर्बभन्दा बढी रकम आम्दानी गर्ने गरेको जानकारी दिएका छन्।


