काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन्। बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘संसदीय समितिमा जानै पर्यो, एउटा काम गर्न थाल्यो अख्तियारले बोलाउन थाल्छ, महालेखाले बोलाउँछ, सम्पत्ति शुद्धीकरणले बोलाउँछ, दिक्क बनाइसक्यो कामै गर्न पाइएन,’ उनको गुनासो थियो।
नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको उनको भनाइ थियो। प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको बताएका उनले निगमको ऋण ४९ अर्ब रहेको भन्दै उनले एक वर्षमा २२ अर्ब कमाएको बताएका थिए।
कानुन बनाउने प्रक्रिया धेरै ढिला भएको भन्दै उनले मन्त्रालयबाट उठेको विधेयक अर्थ, कानुन मन्त्रालयमा झुन्डिएर बसेको बताए।


