काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत काट्न थालेको छ। शुक्रबार ४ वटा सिमेन्ट उद्योगको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ। जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको लाइन काटिएको हो।
जगदम्बाले १ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल काट्न निर्देशन दिएका थिए।
गत भदौमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरेका थिए। तर प्रधानमन्त्री दाहालले फोन गरी डेडिकेटेड लाइनको बक्यौता नतिरे पनि लाइन भने नकाट्न निर्देशन दिएका थिए।
डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामाे समयदेखिको विवाद छ। २०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए।
देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेका बेला केही उद्योगले भने डेडिकेटेड र ट्रंकलाइनको सुविधा पाएका थिए।
त्यसबेलाको विद्युत महसुल भने उद्योगहरूले अहिलेसम्म तिरेका छैनन्। यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको भनाइ छ। ५८ उद्योगले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएका थिए।


