काठमाडौँ- चालु आर्थिक वर्षको ५ महिनामा अलैँची निर्यातमा वृद्धि भएको छ। चालु आ.व.को ५ महिनामा नै करिब ४ अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म ३अर्ब ९८ करोड ६१ लाख ५ हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको थियो। गत वर्षको तुलनामा ५महिनामा १ अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो। व्यापारविज्ञ रविशङ्कर सैँजूले स्वदेशमा उत्पादित अलैँची अन्य देशको भन्दा उच्च गुणस्तरको भएकाले पनि निर्यात बढ्दै गएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च छ, नेपालमा प्याकेजिङ र ग्रेडिङ गरेर पठाउन सके वार्षिक १० अर्ब रुपियाँको निर्यात गर्न सकिने उनको भनाइ छ।
विभागको तथ्याङ्क अनुसार आव २०७९÷८० मा ८ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो। आव २०७८÷७९ मा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो।


