नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन्। नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन्। पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन्,’ उनले भने, ‘महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने त्यसलाई गम्भीर रुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ।’
४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर स्थापना गरेको सहकारीले स्थानीय आवश्यकता पूरा गर्न सहयोग गरिरहेको भन्दै प्रशंशा गरेका थिए।
‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ। पछिल्लो समय सहकारी बद्नाम पनि भयो,’ उनले भने, ‘कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन्। व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे।’


