काठमाडौँ- भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार दुई देशका सचिवले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन्।
सम्झौतामा १० वर्षमा नेपाल-भारतबीच विद्युत व्यापारसम्बन्धी विस्तृत एक्सन प्लान समेटिएको ऊर्जा मन्त्रालयले जनाएको छ। १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने योजना सम्झौतामा रहेको उल्लेख गरिएको छ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारत भ्रमण क्रममा (२ जुन २०२३) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौतालाई मूर्त रूप दिन १८ जुन २०२३ मा ऊर्जासचिव दिनेशकुमार घिमिरे भारत गएका थिए। त्यसबेला नयाँदिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर गरिने कार्यक्रम राखिएको थियो। तर त्यहाँको मन्त्रिपरिषदबाट सम्झौता स्वीकृत नभएका कारण हस्ताक्षर हुन सकेको थिएन।
अहिले नेपालको विद्युत उत्पादन क्षमता २८ सय ९२ मेगावाट पुगेको छ। करिब ५४१ मेगावाट यही वर्षमा मात्रै थप भएको हो।
भारतले गत वर्षदेखि मात्रै नेपालबाट बिजुली लैजान सुरू गरेको छ। अहिले नेपालले भारतीय बजारमा ५०० मेगावाटभन्दा बढी बिजुली बिक्री गर्ने अनुमति पाएको छ।


