काठमाडौँ– सरकारले हालै भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट माग गरेका छन्। मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा उक्त डकुमेन्ट नआएसम्म बैठक सुरु गर्न नहुने उनीहरुको अडान छ।
सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि बैठक रोकिएको हो।
ऊर्जामन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उपस्थितमा बैठक सुरु भएको थियो। तर सुरुमा नै सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापारको डकुमेन्ट माग गरेपछि मन्त्रीलाई अप्ठेरो परेको हो।
भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आएका बेला गत बिहीबार नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता भएको बताइएको थियो।


