काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
त्रिभुवन भन्सार कार्यालयको सिफारिस र गृह मन्त्रालयको स्वीकृतिसँगै सोमबारदेखि विमानस्थलको भन्सार क्षेत्रमा सशस्त्र प्रहरी खटाइएको हो। सुनको अवैध तस्करीलाई रोक्नका लागि सशस्त्र खटाइएको हो।
अहिले इन्स्पेक्टरको कमान्डमा ३० प्रहरी परिचालन गरिएको छ। भन्सारका कर्मचारीको रेखदेखमा उनीहरु खटिने छन्।
यसअघि निजी सुरक्षा कम्पनीका सुरक्षागार्ड राख्ने गरिएको थियो। स्टार सेक्यूरिटीका १८ जना कर्मचारी भन्सार चेकिङमा खटिएका थिए।
‘अब भन्सार चेकिङमा सशस्त्र प्रहरीले डियुटी गर्न थालेको छ,’ भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले भने।
तस्करले भन्सारका कर्मचारीलाई प्रलोभनमा पारेर तस्करी गर्ने गरेका थिए। थप एक निकाय भएपछि सेटिङको समस्या कम हुने अपेक्षा गरिएको छ।


