काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार सदस्य थप गर्नेसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएको हो।
योजना आयोगमा एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था रहेकोमा अब एक जना सदस्य थप गर्ने निर्णय भएको हो। योसँगै आयोग अब ७ सदस्यीय बन्ने भएको छ।
राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) दोस्रो संशोधन आदेश २०८० नेपाल राजपत्रमा बिहीबार प्रकाशित भएको हो।
सचिव गणेशप्रसाद पाण्डेयले जारी गरेको आदेशमा आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ को दफा ३ को उपदफा २ को खण्ड (ग) संशोधन गर्दै ‘नेपाल सरकारबाट नियुक्त कम्तीमा एक महिलासहित बढीमा सात जना सदस्य’ भन्ने व्यवस्था राखिएको हो।
सत्ता गठबन्धन दललाई भाग पुर्याउन सरकारले सदस्य थप गरेको हो।


