काठमाडौँ- सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको छ। सोमबार दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा प्रहरीले लाठीचार्च गरेको हो।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत (व्यंग्यात्मक) गर्न बसेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो। जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको ब्यानरसहित स्वागतमा बसेका थिए।
प्रहरीले लाठी चार्ज गर्ने क्रममा मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ। ‘विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न अगाडि बढ्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले भने, ‘लाठीचार्ज हुँदा लागेको हुन सक्छ।’
पछिल्लो समय जसपा र जनमत पार्टीबीच तिक्तता छ। कृषि विश्वविद्यालयमा शिलान्यासका लागि अध्यक्ष यादव आउने भएपछि शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति रहेका महेशप्रसाद यादव पनि सहभागी थिए। शिक्षामन्त्री यादव जनमत पार्टीका हुन्।
आफूहरू उपेन्द्रको स्वागत गर्न बसेको र त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको जनमत पार्टीका सचिव बिपी साहले बताए। सांसदहरू भाग्यसिंह चौधरी, रञ्जुकुमारी मण्डल, सतिशकुमार सिंहरूमाथि पनि लाठीचार्ज भएको साहको भनाइ छ।
शिलान्यास कार्यक्रम स्थगित गर्न जनमत पार्टीले गृह मन्त्रालयमा आग्रह गरेको थियो। जनमतका कार्यकर्ताहरूले आइतबार विश्वविद्यालयमा ताला लगाएका थिए।


