काठमाडौँ- रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आईपीओ जारी गरेको छ। कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयर बुक बिल्डिङमार्फत बिक्री गर्न लागेको हो।
उक्त सेयरको ४० प्रतिशत हुने ७ लाख ७० हजार ६४० कित्ता सेयरमा योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री खुलाइएको छ।
सेयरको मूल्यको सीमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ।
बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी भई बिक्री मूल्यको सीमा भित्र रहेर बोलकबोलमार्फत सेयर खरिद गर्नुपर्ने छ।
योग्य संस्थागत लगानीकर्ताले कम्पनीको सेयर खरिदका लागि माघ १४ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।
गत वर्षको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २४८.६७ रुपैयाँ छ। प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ छ।
आईपीओ निष्कासनका लागि कम्पनीले केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्राप्त गरेको छ। यसको अर्थ वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको भन्ने हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ।
