काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धौवादी फलामखानीको अवलोकन गरेका छन्। शनिबार पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिकास्थित फलामखानी मन्त्री रिजालले निरीक्षण गरेका हुन्।
खानीबाट आइरन/स्टिल उत्पादन गर्नका लागि चार वर्षअघि धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना भएको थियो। दक्ष जनशक्ति र प्रविधिको अभाव तथा सीमित स्रोत साधन हुँदाहुँदै पनि कम्पनीले गर्दै आएको प्रयास सह्रानीय रहेको मन्त्रीले बताएका थिए।
देशका उद्योग तथा खानीबाट अधिकतम फाइदा लिन जरुरी रहेको उनको भनाइ थियो। वातावरणमा कम क्षति हुने गरी खनिज उत्खनन गर्नेपर्ने धारणा मन्त्री रिजालले राखेका थिए।
मन्त्री रिजालले धौवादी फलाम कम्पनीको स्थापनापछि रोजगारी सिर्जना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा व्यक्त गरे। धौवादी फलाम कम्पनी लिमिटेड फलाम उत्पादन क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास मन्त्री रिजालको छ।
मन्त्री रिजालको टोलीलाई धौवादी फलाम कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डा जनकबहादुर चन्दले खानीका विविध पक्षबारे ब्रिफिङ गरेका थिए।
स्थलगत अनुगमनमा उद्योगसचिव मुकुन्दप्रसाद निरौला, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी थिए।


