काठमाडौँ- न्युरोड जाने सवारी धनीहरुका लागि काठमाडौँ महानगरपालिकाले दुई हजार दुई सय वटा दुईपाङ्ग्रे र ७ सय वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ। आइतबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा हुने सवारी पार्किङ निषेध गरी यो सेवा उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ।
धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा १ हजार ५ सय दुईपाङ्ग्रे सवारी साधन अट्छन्। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यो सेवा निशुल्क हो।
‘यससँगै काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा ७ सय वटा दुई पाङ्ग्रे र ३ सय वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ। यसमा महानगरले शुल्क लिँदैन,’ उनले भने, ‘यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका व्यापारिक भवन ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ।’
पाण्डेका अनुसार सोमबार धरहराको पार्किङ भवनमा करिब ९ सय जना सवारी चालकले निःशुल्क पार्किङको सेवा लिए।
महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेल अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा दुईपाङ्ग्रे र ३० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्थ्यो। जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सयवटा दुईपाङ्ग्रे र ५ वटा चारपाङ्ग्रे, प्युखामा १५० वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे, खिचापोखरीमा १५० वटा दुईपाङ्ग्रे र १५ वटा चारपाङ्ग्रे, वीर अस्पताल महाबौद्धमा १५० वटा दुईपाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो।
‘महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ। सडक किनारामा पैदलयात्रीले सहजतापूर्वक हिँड्न पाउँछन्,’ खरेलको भनाइ छ।
कालोपत्रे सडकलाई सवारी आवागमनका लागि मात्र प्रयोगमा ल्याउन महानगरपालिकाले यस्ता ठाउँलाई पार्किङ निषेध गरिरहेको छ। माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो।
यसअघि महानगरले बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकेको छ।


