काठमाडौँ- एकैपटक १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन्। हिमालय एयरलाइन्सको जहाज चार्टर गरी एकैपटक १८० जना चिनियाँ पर्यटक नेपाल आएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनिहरूलाई स्वागत गरेका थिए। पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र चिनियाँ राजदूत छेन् सङ् पनि उनीहरूलाई स्वागत गर्न विमानस्थल पुगेका थिए। उनीहरूको स्वागतमा पञ्जेबाजा बजाइएको थियो।
७ सय जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउन लागेका छन्। त्यसमध्ये पहिलो टोली आज आएको हो।
कोरोना महामारी सुरु भएपछि चीनले शून्य कोभिड नीति लिएको थियो। नेपाल-चीनबाट राजनीतिक र कूटनीतिक भ्रमणका कार्यक्रम जारी भएपनि पर्यटकका लागि आवागमन सहज थिएन। चीनले कोरोनाका केसलाई शून्यमा झार्ने भन्दै नेपालतर्फका सीमानाकामा सहज बनाउन मद्दत नगरेको नेपाली पक्षले गुनासो गर्दै आएको थियो।
यसैबीच चीनले नेपालतर्फका सीमानाका पनि सहज बनाइने बताउँदै आएको छ। नेपाली नयाँ वर्षदेखि पूर्ण क्षमतामा तातोपानी नाका सञ्चालनको तयारीका लागि आवश्यक प्रबन्ध गर्नका लागि तातोपानी नाकाबाट हुने आवतजावत स्थगित गरिएको छ।
चीनले मार्च २८ देखि ३१ सम्म चीनको हाइनान प्रान्तमा अन्तर्राष्ट्रिय सम्मेलन बोआओ कन्फ्रेन्स आयोजना गरेको थियो। त्यसमा नेपालका प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरिएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल उक्त सम्मेलनमा सहभागी भएका थिएनन्।
सम्मेलनअघि चीनस्थित नेपाली दूतावासले आयोजना गरेको ‘चिनियाँ प्रबुद्धसँग अन्तर्क्रिया’ कार्यक्रममा चीनको हेपेईस्थित नेपाल अध्ययन केन्द्रका निर्देशक झाङ सुबिनले प्रधानमन्त्री दाहाल बोआओमा सहभागी हुन इच्छुक नहुनुमा भूराजनीतिक कारण रहेको उल्लेख गरेका थिए।


