काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको बैठकका लागि तयारी गर्न ८ उपसमिति गठन गरेका छन्।
फागुन ७ गते प्रारम्भ हुने महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका देउवाले ८ जना नेतालाई ८ उपसमितिको संयोजकको जिम्मेवारी दिएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
देउवाले प्रचार प्रसार उपसमितिको जिम्मा मीनबहादुर विश्वकर्मालाई दिएका छन्। यस्तै, आवास समन्वय उपसमितिको जिम्मेवारी मदनबहादुर अमात्यले पाएका छन्।
खाना खुवाउने भोजन व्यवस्थापन उपसमितिको जिम्मेवारी उदय शम्शेर राणाले पाए। यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत र स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी तोकिएका छन्।
यस्तै प्रदेश समन्वय उपसमितिको जिम्मेवारी इन्द्रबहादुर बानियाँले पाउँदा स्थानीय व्यवस्थापन उपसमितिको जिम्मेवारी ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलाई दिइएको छ।
सभापति देउवाले महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन सम्बन्धित उपसमितिका संयोजकले कुशलतापूर्वक भूमिका निभाउने विश्वास व्यक्त गरेका छन्।



