कपिलवस्तु- अर्थमन्त्री डा प्रकाशशरण महतले कृष्णनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। मंगलबार ती कार्यालयको महतले निरीक्षण गरेका हुन्।
कार्यालय निरीक्षणपछि कर्मचारीसँग कार्यालयका अप्ठ्याराहरूका विषयमा जानकारी लिएका थिए। कर्मचारीका कुरा सुनेपछि डा. महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने बताए।
उनले कर्मचारीलाई नतिजामुखी भएर काम गर्न पनि निर्देशन दिए। ‘रिजल्ट चाहिन्छ। त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ,’ उनको निर्देशन थियो।
मन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरे राजश्वको लक्ष्य भेट्न सकिने उनको भनाइ थियो।
‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन। त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन् भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ,’ उनको भनाइ थियो। आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उनको भनाइ थियो।
उनले सेवाग्राहीलाई अनावश्यक दुख नदिन पनि निर्देशन गरे। ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन। जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ,’ उनको भनाइ थियो।


