काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले कुनै पनि शक्तिका आडमा कसैलाई पनि गलत काम गर्ने छुट नहुने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसका सांसदसमेत रहेका अर्बपति व्यापारी विनोद चौधरीका भाइ अरुण चौधरीलगायतमाथि पनि छानबिन गर्नपर्ने उनको भनाइ थियो। तर सरकारले स्टन्टका लागि मात्र पक्राउ गर्ने गरेको भन्दै उनले गृहमन्त्रीमाथि कटाक्ष पनि गरेका थिए।
‘जुनसुकै दलको होस्। नागरिकतामा कीर्ते गरेर फलानो दलको हो भनेर चल्छ? जुनसुकै ताकत भएको होस्,’ थापाको प्रश्न थियो, ‘आम नागरिकले निक्षेप संकलन गरेर ठगी गर्छ भने, ठगीको मतियार बन्छ भने कानुनी कारबाहीको दायरमा आउनु पर्दैन?’
उनले जग्गा मिच्ने, नागरिकतामा कीर्ते गर्ने र सहकारी ठगी गर्ने कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका थिए।
‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस्,’ उनले भने, ‘चाहे ठग्ने होस्। यताको होस् वा उताको होस्। कसैले पनि उन्मुक्ति पाउनुहुन्न।’
हालै कास्की प्रहरीमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगी गरेको भन्दै उजुरी परेको छ। तर लामिछाने भने आफूलाई केही थाहा नभएको बताउँदै आएका छन्।


