पर्थ (अस्ट्रेलिया)- नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।
हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए।
Nepal and Australia signed and exchaned the Trade and Investment Framework Arrangement at Perth, Australia today. Hon. N. P. Saud @NPSaudnc and Senator the Hon. Penny Wong, Foreign Ministers of Nepal and Australia respectively witnessed the signing ceremony.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) February 9, 2024
सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए।
‘अस्ट्रेलया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ। हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन्।
वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए। उक्त कुरा पनि उनले स्मरण गरेका छन्। उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरुसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।
त्यस बेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए।
‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटकपटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ‘पर्थमा (यसपालि) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ। यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ।’
Australia and Nepal are close friends and our relationship is underpinned by deep people to people links – Nepali Australians are our fastest growing migrant community. pic.twitter.com/fBkI51AvNJ
— Tim Watts MP (@TimWattsMP) February 9, 2024
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन साउद अस्ट्रेलियामा छन्।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते मन्त्री साउद वेलिङ्टन जानेछन्। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीबीच दोस्रो परामर्श बैठक हुनेछ।
मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किनेछन्।


