काठमाडौँ- सरकारले बजेटको लक्ष्य घटाएको छ। सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवको बटेटको आकार नै घटाएका हुन्।
जेठ १५ मा घोषित बजेट अनुसार काम नहुने देखेपछि अर्थमन्त्री महतले उक्त बजेटको आकारको ८७.३८ प्रतिशत मात्रै खर्च हुने भन्दै बजेट कम गरेका हुन्।
चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका थिए। अब उक्त बजेट घटेर १५ खर्ब ३० अर्ब २६ करोडमा झर्ने मन्त्री महतले उल्लेख गरेका हुन्।
पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुनेछ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान मन्त्रालयको छ।
स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा अब राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने मन्त्रालयको आकलन छ।
अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान गरिएकोमा त्यसलाई संशोधन गर्दै ४० अर्ब १२ करोड ९ लाखमा झारिएको छ।
बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान गरिएकोमा अब १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान छ।
पूर्णपाठ


