काठमाडौँ- पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अर्ब विदेशी लगानी हुने भएको छ। पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् यो परियोजना चलाउन (कोइका)ले एक अर्ब ३० करोड र (युएनडिपी)ले साढे ११ करोड लगानी गर्ने भएका हुन्।
परियोजनाबारे पोखरामा शुक्रवार सरोकारवालाबिच छलफल भएको छ। यो परियोजनाले रिसाइकल र अपसाइकलमार्फत् नयाँ सामग्रीहरू उत्पादन गर्ने छ। यो परियोजनालाई सिकाई केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिने महानगर प्रमुख धनराज आचार्य बताउछन्।
‘यो परियोजनाले युवालाई रोजगारीसँग जोड्नेछ। सँगसँगै हरित अर्थतन्त्रको विकासमा विशेष योगदान गर्ने छ,’ उनले भने। हरित रोजगारी सृजना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना सहयोगी साबित हुने उनको विश्वास छ।
परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भइसकेको छ। परियोजनाले महानगरपालिकाका कर्मचारी, सरोकारवाला र उद्यमीहरूको क्षमता बढाउँदै हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने छ।
परियोजनाले ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र नयाँ तथा आयु उद्यमीलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्ने जनाइएको छ। दिगो रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सृजना आम समुदायका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।


