काठमाडौँ- विशेषत: २०४७ सालमा बहुदलीय लोकतन्त्रको स्थापनासँगै नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अबस्थाको बारेमा विभिन्न कोणबाट बहस भइरहेको छ।
देशका प्रजातन्त्र एवं लोकतन्त्रको पुर्नस्थापना भएको साँढे तीन दशक भईसक्दा पनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी बेलाबखतमा आलोचना हुने गर्दछ। यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु? शीर्षकमा छलफल भएको छ।
दि अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेलले बहस गरे।
कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले कांग्रेसले समयमा नै महाधिवेशन गर्ने गरेको जिकिर गरे।
‘इतिहासदेखि नै नेपाली काँग्रेसभित्र पूर्णरुपमा आन्तरिक लोकतन्त्रको अभ्यास भईरहेको छ। त्यसैगरी आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ,’ उनको दाबी थियो।
एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गर्दै त्यही प्रणाली मार्फत नै आफू जस्ता युवा नेता पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएको र संसदको सर्वाेच्च पदमा पनि रहेको बताए।
नेकपा एमालेका नेता माधव बाँस्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रुपमा सबै सहभागितले आफ्नो धारणा राखेको बताए।
‘संसारभरका कम्युनिस्टले जनवादको नारा लगाउँदै आएपनि नेपालमा भने यस विषयमा अझै बहसको आवश्यकता छ। लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रियकतको कुरा गर्दा निरंकुशता तर्फ जान्छ,’ उनले भने।
कार्यक्रममा बोल्दै सुचेता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाईसँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताइन्।
कार्यक्रममा भट्टटराईले पार्टीको महाधिवेशन, आन्तरिक निर्वाचन प्रणाली, फरक मतको सम्मान दलहरुभित्रको लोकतन्त्रको आधारको रुपमा रहेको बताए।
उनले राजनीतिक दलभित्र पैसा र शक्तिको बढ्दो प्रभावले उम्मेदवार चयन र अन्य महत्वपूर्ण जिम्मेवारी चयनमा समेत प्रभाव बढदै गएको उल्लेख गदै यो प्रवृतिको अन्त गर्नुपर्ने बताए।


