काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाले संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेजस्तो अनुभव भएको बताएका छन्।
सभासद मञ्चले मंगलबार राखेको संविधान, सुशासन र समृद्धि विषयक अन्तरसंवाद कार्यक्रमका पाहुना बनेर जान खोज्दा आफूलाई घेराबन्दीमा पारिएको पूर्वसभामुख दमननाथ ढुंगानाले गुनासो गरेका हुन्।
‘यसपालि त संसदमा अघि नै उता माथि (बानेश्वर) पुगेछु। त्यहाँ दुई नम्बर गेटमा जा भन्छ। तीन नम्बर गेटमा जा भन्छ। प्रहरीले घेरेको घेरेकै छन्,’ उनले थपे, ‘त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपालि त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई।’
सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि समितिको सभाहलमा राखिएको कार्यक्रमका विषयमा प्रष्ट सूचना नपाएका कारण आफू मंगलबार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेको तर त्यहाँ घेराबन्दीमा पारिएको भन्दै उनले गुनासो गरेका हुन्। त्यसपछि ढुंगाना सिंहदरबार पुगेका थिए।
नयाँबानेश्वर क्षेत्रको फुटबाथ प्रयोग गर्न सरकारले प्रतिबन्ध लगाएको छ। सोमबार लघुवित्त पीडित संघीय संसद भवनभित्र प्रवेश गरेका थिए। यसपछि मंगलबार सुरक्षा व्यवस्था कडा पारिएको छ।
संघीय संसद भवनमा प्रवेश गर्न खोज्दा यतिविघ्न सास्ती आफूले कहिल्यै भोग्नु नपरेको उनको भनाइ थियो।
संसदमा अकस्मात् ४८ महिला पुग्दा सिंहदरबारमा तरंग, गृहमन्त्रीले लिए ब्रिफिङ
संसद् भवन छिरेका आन्दोलनकारी सम्हाल्न प्रहरीलाई ‘आच्छुआच्छु’ [फोटो फिचर]


